काठमाडौं । स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षणको नतिजा सार्वजनिक गरिएको छ ।
सहर र हाइवेमा गरिएको परीक्षणले एआरएआई प्रमाणित १९ दशमलब ६८ किलोमिटर प्रतिलिटरको दाबीभन्दा वास्तविक सडक अवस्थामा माइलेज कम देखिएको पुष्टि गरेको कम्पनीको दाबी छ । १.०–लिटर टर्बो पेट्रोल इञ्जिन र म्यानुअल गियरबक्ससहितको कायलाकलाई सहरभित्र ८० किलोमिटर चलाएर परीक्षण गर्दा ७.४९ लिटर इन्धन खपत भएको र १०.६८ किलोमिटर प्रतिलिटर माइलेज प्राप्त भएको छ । परीक्षण अवधिमा ट्राफिक जाम, सिग्नल र स्टप–एन्ड–गो अवस्थाका कारण इन्धन खपत बढेको बताइएको छ । हाइवे परीक्षणमा भने कायलाकले अपेक्षाकृत राम्रो प्रदर्शन देखाएको छ । ९१ किलोमिटरको दूरी ८५–९५ किलोमिटर प्रतिघण्टाको स्थिर गतिमा तय गर्दा ६.४९ लिटर इन्धन खपत भई १४.०२ किलोमिटर प्रतिलिटर माइलेज रेकर्ड गरिएको छ । स्थिर गति र अवरोधरहित सडक अवस्थाले इन्धन दक्षता बढाउन मद्दत पुगेको परीक्षण टोलीले जनाएका छन् ।
परीक्षणका क्रममा चालकहरूले शहरमा कम गतिमा पनि इञ्जिन रेस्पोन्सिभ रहेको र हाइवेमा गाडी स्थिर तथा सन्तुलित महसुस भएको बताएका छन् । ड्राइभर र यात्रु दुवैका लागि आरामदायी अनुभव रहेको उल्लेख गरिएको छ । स्कोडाले हालै आफ्नो लाइनअपको दक्षता प्रदर्शन गर्दै स्ट्यान्डर्ड स्कोडा सुपर्बले एकै ट्यांकी पेट्रोलमा दुई हजार आठ सय ३१ किलोमिटर यात्रा गरी विश्व रेकर्ड बनाएको दाबी गरेको छ, जसले ब्राण्डको इन्जिनियरिङ क्षमतालाई देखाउने बताइएको छ । विशेषज्ञहरूका अनुसार ड्राइभिङ शैली, ट्राफिक अवस्था र सडकको प्रकृतिका कारण वास्तविक माइलेज कागजी विवरणभन्दा फरक पर्नु सामान्य हो । यस परीक्षणले कायलाक शहरमा प्रयोगमैत्री भए पनि माइलेज केही कम देखिने र हाइवेमा भने राम्रो दक्षता दिने एसयूभीका रूपमा उभिएको निष्कर्ष निकालेको छ ।