व्रसेल्स । युरोपेली संघकी उच्च अधिकारी उर्सुला फोन डर लेयेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी नयाँ कर (आयात कर) लागू गर्ने धम्कीलाई ‘दीर्घकालीन मित्र राष्ट्रबीचको भूल’ भएको बताएकी छिन् । उनले यस कदमले ट्रम्पको विश्वासयोग्यता प्रतिप्रश्नमा पर्न सक्ने चेतावनी पनि दिइन् ।
उर्सुला फोन डर लेयेनले डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा भनिन्, ‘सन् २०२५ मा अमेरिका र युरोपेली संघबीच भएको व्यापार सम्झौताअनुसार थप कर नलगाउने सहमति भएको थियो । राजनीति र व्यापार दुवैमा सम्झौता भनेको सम्झौता हो । मित्रहरूले हात मिलाउँदा त्यसको अर्थ हुनु जरुरी छ ।’
ट्रम्पले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्डमाथि अमेरिकाले नियन्त्रण लिनुपर्ने दाबी गर्दै त्यसको विरोध गर्ने आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लागू गर्ने घोषणा गरे । युरोपेली संघले यस कदमलाई मित्र राष्ट्रबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने चेतावनीका रूपमा हेरिरहेको छ । फोन डर लेयेनले थपिन्, ‘यस्तो कदमले अमेरिका र युरोप दुवैका साझा सुरक्षा चुनौतीहरू—जस्तै चीन र रसिया—लाई फाइदा पु¥याउन सक्छ ।’ उनले यस विषयमा युरोपेली संघको प्रतिक्रिया ‘एकताबद्ध, दृढ र समानुपातिक’ हुने स्पष्ट गरिन् ।
ट्रम्पको कर धम्कीपछि युरोपभर कूटनीतिक गतिविधि तीव्र बनेको छ । युरोपेली संघले सम्भावित प्रतिकारका रूपमा नयाँ कर लगाउने, व्यापार सम्झौता रोक्ने तथा पहिलोपटक दबाब रोक्ने औपचारिक उपाय प्रयोग गर्ने सम्भावना अध्ययन गरिरहेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले डाभोसपछि पेरिसमा सात ठूला औद्योगिक राष्ट्रको आपतकालीन बैठक बोलाउने प्रस्ताव राख्नुभयो । फ्रान्सले ग्रिनल्यान्डको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्नुपर्ने कुरामा जोड दिएको छ ।
ग्रिनल्यान्डमा हजारौँ नागरिकहरूले अमेरिकी नियन्त्रणको विरोधमा प्रदर्शन गरेका छन् । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले फेसबुकमा लेखेका छन्, ‘हामी दबाबमा आएर हाम्रो अडान परिवर्तन गर्ने छैनौँ ।’ यस विवादको असरले विश्व बजारमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । जर्मनी, फ्रान्स र बेलायतका सेयर मूल्य करिब एक प्रतिशतले घटेका छन् भने अमेरिकाका सेयर मूल्य पनि ओरालो लागेको छ ।
विश्लेषकहरूका अनुसार ग्रिनल्यान्डको विवादले अमेरिका र युरोप दुवैका लागि ‘हार–हारको स्थिति’ निम्त्याउन सक्ने सम्भावना देखिएको एपीले जनाएको छ ।