काठमाडौं । काठमाडौं उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बुधबार एक समारोहका बीच सीसी क्यामरा जडान कार्यको शुभारभ्भ गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिए । उनले यातायात व्यवसायीसँगको छलफलपछि गाडीमा सीसी क्यामरा राख्ने अभियान थालिएको बताए । उनले भने, ‘यसलाई तीव्र गतिमा अघि बढाउनेछौँ, जसले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा दुर्व्यवहार र चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा छ ।’ उनले सीसी क्यामरासँगै ड्यासबोर्ड क्यामरा पनि जडान थालनी गरिएको बताए । दुर्घटनापछि चालक भाग्ने, बसभित्रै पनि कुटपिटका घटना हुने तथा यात्रुमाथि दुव्र्यवहारलगायत घटना भएका गुनासा व्यापक आइरहेकाले क्यामरामार्फत निगरानी हुने र तथ्य थाहा पाइने हुँदा सवारीसाधनमा सिसी क्यामरा राख्ने विषयलाई प्राथमिकतामा राखिएको प्रवक्ता सुवेदीले बताए ।
यस्तै ड्यासबोर्डमार्फत बाहिरका गतिविधिका साथै दुर्घटनामा कसको कमजोरी भएको हो भनेर समेत पत्ता लाग्ने हुँदा यसलाई तीव्रताका साथ अघि बढाइने उनले बताए । सो समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यसलाई प्रविधियुक्त बनाउँदा थप सुरक्षित हुने बताए ।