काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए ।
अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौं ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीका अनुसार हालसम्म चार सयभन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लंघन गरेका लगायत रहेको विभागले जनाएको छ । उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।