काठमाडौं । नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआइ) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर सिटी कलेज (केसीसी) बीच उद्योग र शैक्षिक क्षेत्रबीचको दूरी घटाउने उद्देश्यका साथ रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एनजीसीसीआई सचिवालय, नक्साल, काठमाडौँमा आयोजित कार्यक्रममा एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवर र कान्तिपुर सिटी कलेजका अध्यक्ष डा. प्रल्हाद कार्कीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यस साझेदारीको उद्देश्य केसीसीका विद्यार्थीहरूको अनुसन्धान क्षमता, सीप विकास तथा रोजगारी योग्यतालाई जर्मनीसँग आबद्ध तथा नेपालका अग्रणी कर्पोरेट क्षेत्रसँग निरन्तर सहकार्यमार्फत अभिवृद्धि गर्नु रहेको छ । समझदारीपत्रमा व्यापार, लगानी, अर्थशास्त्र तथा व्यवसायसम्बन्धी विषयहरूमा संयुक्त अनुसन्धान तथा अध्ययन; जर्मनीबाट सिनियर एक्सपर्ट सर्भिसको सहजीकरण गरी कार्यशाला, अनुसन्धान परामर्श तथा पाठ्यक्रम विकास, एनजीसीसीआईका सदस्य संस्थाहरूमा केसीसीका विद्यार्थी तथा नयाँ स्नातकहरूका लागि इन्टर्नशीप तथा ट्रेनीशिपका अवसर; संयुक्त सेमिनार, सम्मेलन, वेबिनार तथा उद्योग–शिक्षा गोलमेच संवादको आयोजना; साथै ज्ञान आदान–प्रदान र स्रोत साधनमा सहकार्य गर्ने विषयहरू समेटिएका छन् ।
एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले यो साझेदारी नेपाली स्नातकहरूलाई उद्योगमैत्री बनाउने दिशामा महत्वपूर्ण कदम भएको बताए । केसीसीको शैक्षिक उत्कृष्टता, जर्मन मापदण्डको विशेषज्ञता तथा सदस्य कम्पनीहरूलाई जोडेर नेपालका अर्थतन्त्रसँग सान्दर्भिक उच्चस्तरीय अनुसन्धान र वास्तविक करियर मार्ग निर्माण गर्ने संस्थाको लक्ष्य रहेको उनले जानकारी दिए । कान्तिपुर सिटी कलेजका प्रेसिडेन्ट डा. प्रल्हाद कार्कीले एनजीसीसीआईसँग सहकार्यले कलेजका विद्यार्थीहरूलाई व्यवहारिक अनुभव, अन्तर्राष्ट्रिय विज्ञहरूको मार्गदर्शन तथा उत्कृष्ट रोजगारीका अवसर प्रदान गर्ने बताए ।