विराटनगर । श्रम बजार तथा सीप विकासबीचको सम्बन्धलाई मजबुत बनाई दक्ष जनशक्ति विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सुन्दरहरैचा उद्योग वाणिज्य संघको समन्वयमा सीप परीक्षण तथा नया पेसा पहिचानसम्बन्धी परामर्श कार्यशाला सम्पन्न गरेको छ ।
कार्यशालामा उद्योग संगठनले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै धेरै जनशक्तिसँग वर्षौँदेखि काम गरेर प्राप्त गरेको व्यावहारिक सीप औपचारिक प्रमाणपत्र नभई रोजगारीका अवसर गुमाइरहेको विषयमा जानकारी गराएको थियो । सीप परीक्षण तथा पूर्वसिकाइको मान्यता प्रणालीमार्फत यस्ता जनशक्तिलाई औपचारीक मान्यता प्रदान गर्नेदेखी उद्योग व्यवसायले व्यवहारिक सीपयुक्त दक्ष जनशक्ति सहजै प्राप्त गर्नसक्ने वातावरण निर्माण हुने उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए । सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले वर्तमान युग व्यावहारिक सीप र क्षमताको भए पनि उद्योगहरूले चाहेजस्तो जनशक्ति प्राप्त गर्न नसकिरहेको बताएका थिए । उनले रोजगारी खोज्ने व्यक्तिको सीप र उद्योगले खोजिरहेको सीपबीचको खाडल घटाउन सीपको मूल्यांकन तथा प्रमाणीकरण प्रणालीलाई प्रभावकारी बनाउँदै उद्योगको आवश्यकताअनुसारको श्रमशक्ति विकास गर्नुपर्नेमा जोड दिएको बताए ।
कार्यक्रममा सीटीईभीटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले सीप परीक्षण तथा प्रमाणीकरण प्रणालीले अनुभवी तर अप्रमाणित श्रमिकहरूलाई योग्यताको औपचारिक प्रमाणपत्र प्रदान गर्ने भन्दै त्यसले श्रमिकको आत्मविश्वास बढाउनुका साथै उद्योगहरूलाई दक्ष जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने धारणा राखेका थिए । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले उद्योगमैत्री, व्यावहारिक र नतिजामुखी सीप विकास कार्यक्रमहरू सञ्चालनको आवश्यकता औल्याए । सहजकर्ता रामप्रसाद सापकोटाले यसप्रकारको कार्यक्रमले प्रतिस्पर्धी र सक्षम औद्योगिक वातावरण निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए । विभिन्न पेसामा आबद्ध पेशाकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा पूर्वसिकाई मान्यतामा आधारित सीप परिक्षणका लागि आवेदन फारम आगामी माघ १२ गते खुल्ने र उक्त आवेदन फारम सीटीईभीटी, एनएसटीबी, र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको वेबसाइटमा उपलब्ध हुने जानकारी पनि गराइएको थियो ।