वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्ज हुँदै ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए । उनका अनुसार गत आवको छ महिनाको अवधिमा ३१ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।
चालु आवको छ महिनामा २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल, तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल र तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भएको छ । त्यस्तै, एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा र दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ ।