नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) का संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नाउपा नेपालको उम्मेदवारका रूपमा चौधरीले मनोनयन दर्ता गराएका थिए। तर निर्वाचन अधिकृतले प्रचलित कानून बमोजिम उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै मनोनयनपत्र खारेज गरेका हुन्। निर्वाचन अधिकृतको निर्णयमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको मनोनयनपत्र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रचलित कानूनअनुसार कायम रहन नसक्ने देखिएकाले खारेज गरिएको छ।’ टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका चौधरीले यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि चौधरी बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी कारागारमा रहेका थिए। सो निर्वाचनमा उनका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवार बनेका थिए, जसको उम्मेदवारी पनि खारेज भएको थियो।लालवीर चौधरी हाल नागरिक उन्मुक्ति पार्टी नेपालमा आवद्ध छन्।