काठमाडौँ । सरकारले घरजग्गा कारोबारबाट पुसमा पाँच अर्ब बढी राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको छैटौँ महिनामा घरजग्गा कारोबार बढ्दा सरकारलाई प्राप्त हुने राजस्वमा वृद्धि भएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा सुस्ताएको घरजग्गा कारोबार पुस महिनामा बढेको छ । मंसिरमा सरकारले एक लाख ५८ हजारवटा घरजग्गा कारोबारबाट चार अर्ब ८४ करोडको राजस्व उठाएकोमा पुस महिनामा एक लाख ६२ हजारवटा घरजग्गा कारोबार भएको छ । यसबाट पाँच अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
सरकारले नयाँ दर्ताबाट २ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गर्दा पुँजीगत लाभकरबाट एक अर्ब ९८ करोड रुपैयाँ संकलन गरेको छ । मंसिरमा नयाँ दर्तामा २ अर्ब ६२ करोड र पुँजीगत लाभकरमार्फत एक अर्ब ८३ करोड रुपैयाँ प्राप्त भएको थियो । यस्तै पुस महिनामा करिब डेढ करोडभन्दा धेरै पटक घरजग्गा कारोबार हुँदा सबैभन्दा धेरै काठमाडौमा भएको छ । देशैभर कुल ५१ हजार लिखत पारित हुँदा पाँच हजारवटा नामसारी, ४० हजारवटा रोक्का र ३२ हजारवटा जग्गा फुकुवा भएका छन् । जुन सबैभन्दा धेरै काठमाडौंको कलंकी मालपोत कार्यालयबाट भएको विभांगको तथ्यांक छ ।
यो अवधिमा काठमाडौंको कलंकी मालपोत कार्यालयबाट मात्रै पुस महिनामा लिखत पारित, नामसारी, रोक्का र फुकुवा गरी करिब आठ हजार बढी कारोबार भएका छन् । कित्ताकाट भने सबैभन्दा धेरै जग्गा कित्ताकाट भने झापा, धनुषा, काठमाडौं, मोरङ, सुनसरी, सिराहालगायतका जिल्लाहरूमा भएका छन् ।