काठमाडौं, भदौ २४
सिन्धुपाल्चोक वनसाँघु समाज र लामोसाँघु भ्याली समाज समितिले काठमाडौं महानगरपालिका वडा नं. १० भित्र रहेका सुकुम्बासी टोलहरुमा निःशुल्क खाना खुवाउन सुरु गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न नदिनका लागि गत चैत ११ गतेदेखि लागू भएको लकडाउन र विगत तीन सातायता निषेधाज्ञा जारी भएपछि कयौं मानिसहरुले बिहान बेलुकी हात मुख जोड्न नसक्ने स्थितिमा पुगेकै कारण न्यून वर्गका मानिसहरुलाई खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको सिन्धुपाल्चोक वनसाँघु, समाजका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
काठमाडौं महानगरपालिका वडा नं. १० को सहकार्यमा शंखमूल, शान्ति विनायक, देवीनगरका सुकुम्बासी टोलहरुमा दैनिक एक हजार प्याकेट खाना वितरण गर्ने कार्यक्रम रहेको जसमध्ये भर्खरै शंखमूलमा तीन सय प्याकेट खाना वितरण गरिसकेको र बाँकी शान्तिविनायक र देवीनगरमा लगेर वितरण गर्ने अन्तिम तयारीमा रहेको लामोसाँघु भ्याली समाज स्वामितोका अध्यक्ष बलदेव श्रेष्ठले जानकारी दिए ।
लकडाउन र निषेधाज्ञाका कारण कामविहीन बन्नुपर्दा दैनिक हात मुख जोर्न धौधौ परिरहेको बेला आफूहरुलाई मिष्ठान्न भोजन उपलब्ध गराएकोमा शंखमूलका सुकुम्बासी टोलका मानिसहरु खुसी हुँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले गर्दा दैनिक ज्यालादारी गरी खाने र न्यून आय भएका मानिसहरु चरम समस्यामा परिरहेकोले निषेधाज्ञाभर आफूहरुले खाना वितरण गर्ने आयोजकले जनाएको छ ।