काठमाडौँ । श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेललाई हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।
समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।
विद्याकीदेवी सरस्वतीको वसन्त पञ्चमीका अवसरमा पूजाआराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।