काठमाडौं । बैंकिङ क्षेत्रको कुल गैरबैंकिङ सम्पत्ति आधा खर्ब रुपैयाँ नाघेको छ । पछिल्लो समय निष्क्रिय कर्जा अर्थात् एनपीएलको मात्रा बढ्दै जाँदा गैरबैंकिङ सम्पत्ति अर्थात् एनबीएको मात्रा पनि बढेको हो ।
चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा बैंकिङ क्षेत्रमा ५१ अर्ब एक करोड ५० लाख रुपैयाँबराबरको कुल गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो अवधिमा निष्क्रिय कर्जा औसतमा पाँच दशमलव २६ प्रतिशत छ । गत आवको सोही अवधिभन्दा चालू आवको ५ महिनामा गैरबैंकिङ सम्पत्ति १२ अर्ब ४२ करोड ७० लाख रुपैयाँले बढेको देखिएको हो ।
गत आवको पहिलो पाँच महिनामा गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ५८ करोड ८० लाख बराबर र निष्क्रिय कर्जा औसत चार दशमलव ४२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यसको अर्थ बैंकिङ क्षेत्रमा औसतमा शून्य दशमलव ८४ प्रतिशतले निष्क्रिय कर्जा र कुल गैरबैंकिङ सम्पत्तिमा १२ अर्ब ४२ करोड रुपैयाँले बढोत्तरी भएको छ । वाणिज्य बैंकहरूमा मात्र यो अवधिमा औसत पाँच दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय र ४३ अर्ब पाँच करोड १० लाख रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । जुन गत आवको तुलनामा १० अर्ब ३९ करोड ६० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरूमा औसत चार दशमलव २८ प्र्रतिशत कर्जा निष्क्रिय र ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो । तुलनात्मक रुपमा वाणिज्य बैंकहरूमा पछिल्लो समय औसतमा शून्य दशमलव ७५ प्रतिशतका दरले निष्क्रिय कर्जा बढेको छ भने कुल गैरबैंकिङ सम्पत्ति १० अर्ब ३९ करोड रुपैयाँ थपिएको छ । त्यस्तै, विकास बैंकहरूमा पनि पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा विकास बैंकहरूमा औसत छ दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय र चार अर्ब ८८ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ ।
गत आवको सोही अवधिमा विकास बैंकहरूमा औसत चार दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय थियो भने तीन अर्ब ६५ करोड ८० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । विकास बैंकहरूमा औसत एक दशमलव ६६ प्रतिशतले निष्क्रिय कर्जा बढेको र कुल गैरबैंकिङ सम्पत्ति एक अर्ब २२ करोड २० लाख रुपैयाँले बढेको देखिएको छ ।
फाइनान्स कम्पनीहरूमा पनि चालू आवको औसतमा १२ दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय र तीन अर्ब आठ करोड ४० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवमा फाइनान्स कम्पनीहरूमा १० दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय र दुई अर्ब २७ करोड ४० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । फाइनान्सहरूमा औसत एक दशमलव ६८ प्रतिशतले निष्क्रिय कर्जा र कुल गैरबैंकिङ सम्पत्ति ८१ करोड रुपैयाँले बढेको देखिएको छ ।