काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयको वार्षिक साधारणसभा शनिबार काठमाडौँमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि अनुमानित आम्दानी २१ करोड ५ लाख ६३ हजार रुपैयाँ र खर्च २० करोड ९९ लाख ७६ हजार रुपैयाँको बजेट पारित गरेको छ । कोषाध्यक्ष कृष्ण प्रसाद मानन्धरका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल आम्दानी २५ करोड ३८ लाख ७२ हजार रुपैयाँ र कुल खर्च २२ करोड ३ लाख १७ हजार रुपैयाँ रहेको जानकारी दिए ।
महासचिव डा. कृत्तिका श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक र लेखा परीक्षण प्रतिवेदन सभाले अनुमोदन गरेको छ । सभामा अध्यक्ष डा. श्रेष्ठले चिकित्सालयको सेवा विस्तार योजनाअन्तर्गत सीटी स्क्यान र म्यामोग्राम सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । साथै निकट भविष्यमै क्यान्सर केयर, कार्डियो भास्कुलर थोरेसिक सेवा तथा नयाँ बहुतले भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।
चालु वर्षमा चिकित्सालयले एक लाख ३० हजार २३ जनालाई उपचार सेवा प्रदान गरेको जनाएको छ । तीमध्ये ६२ हजार चार सय ५० जनालाई विशेष छुट तथा निःशुल्क उपचार सेवा उपलब्ध गराइएको थियो । साथै दुई सय १८ जना बिरामीलाई एक लाख ८८ हजार सात सय ५० रुपैयाँ बराबरको निःशुल्क औषधि वितरण गरिएको जानकारी दिइएको छ । सभामा उपाध्यक्ष कुमारदेव मानन्धरले चिकित्सालयको गतिविधिबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए भने सचिव जगदीश मालीले स्वागत मन्तव्य दिएका थिए । साधारणसभामा समाजसेवी मणिका देवी स्थापितबाट चिकित्सालय विकासका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको पनि जानकारी गराइएको छ ।