काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले देशमा उपभोगमुखी अर्थतन्त्र बढ्दै गएकोले त्यसलाई निरुत्साहन गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर हुँदा लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताए । अध्ययनविनाको लगानीले तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार हुने उनको भनाइ थियो । अर्थमन्त्री खनालले विदेशबाट भित्रिने विप्रेषणको ठूलो हिस्सा उत्पादनशील क्षेत्रमा परिचालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । कुन क्षेत्रमा लगानी गर्दा रोजगारी सिर्जना, उत्पादन वृद्धि र अर्थतन्त्रको आकार विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाले गम्भीर अध्ययन–अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए । बैंकहरूले आफैँ अध्ययन गरेर लगानीको निर्णय गर्नुभन्दा व्यवसायीले ल्याएका प्रस्तावका आधारमा मात्र लगानी गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ । पूर्ण सरकारी स्वामित्वको बैंक भएकाले राष्ट्रिय वाणिज्य बैंकले अध्ययन–अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सके तरलताको प्रभावकारी उपयोग हुने, आन्तरिक उत्पादन बढ्ने र आयात घट्ने उनको भनाइ थियो । बैंक तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय प्रणाली कमजोर नरहेको उनले बताए । ऋणीहरूको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्ने, बैंकद्वारा ऋणीहरूको प्रोफाइलिङ गर्ने, नगद कारोबारभन्दा डिजीटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने लगायत विषयमा जोड उनले दिए । साथै बैंकले कर्जा लगानी गर्दा धितोमा आधारितभन्दा पनि क्रेडिट स्कोरको आधारमा लगानी गर्ने व्यवस्था गर्नुपर्ने बताए । फरक प्रसङ्गमा अर्थमन्त्री खनालले वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको बताउँदै त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालले बैंकले उत्पादनशील क्षेत्रहरूलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गरिरहेको जानकारी दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई आत्मसाथ गर्दै डिजीटल बैंकिङ्ग सेवालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिए । कार्यक्रममा अर्थमन्त्री खनालले बैंकको वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८२ विमोचन गरेका थिए । साथै बैंकले सञ्चालनमा ल्याएका १२ वटा शाखा कार्यालयहरूको डिजिटल माध्यमबाट औपचारिक रूपमा उदघाटन गरे । सोही अवसरमा मन्त्री खनालले बैंकको नयाँ प्रडक्ट आरबीबी फोन लोनको शुभारम्भ पनि गरेका थिए । कार्यक्रममा बैंकमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको थियो ।