नयाँ दिल्ली, भदौ २४
लकडाउनका कारण ठप्पप्रायः भएका भारतीय कलकारखाना फेरि खुल्नथालेका छन् । भारतीय मिडियाहरुका अनुसार कलकारखाना खुल्नथालेसँगै ७० प्रतिशत काम हुनथालेको छ । स्वदेशी तथा प्रवासी मजदुर काममा फर्किएको नवभारत टाइम्सले जनाएको छ ।
यसले देशमा आर्थिक गतिविधि लयमा फर्किने विश्वास गरिएको छ । कोरोना महामारीका कारण देशैभर लकडाउन गरिएपछि कयौँ मजदुर गाउँ तथा आफ्नो देश फर्किएका थिए । तर उनीहरु पुनः काममा फर्किरहेका छन् । यद्यपि आपूर्ति शृंखला पहिलेजस्तो भने भइसकेको छैन । कच्चा पदार्थहरुको आपूर्तिमा भने समस्या भइरहेको छ ।
भारतीय राजधानी दिल्ली आसपासका औद्योगिक क्षेत्रमा पनि चहलपहल बढिरहेको बताइएको छ । कपडा, छपाइलगायतका विभिन्न क्षेत्रमा काम धमाधम हुनथालेका छन् । तर माग भने बढेको छैन । विशेषगरी प्याकेजिङ, इन्जिनियरिङ र खाद्यवस्तुसँग सम्बन्धित कलकारखानामा कामकाज धेरै बढेको छ ।
यी क्षेत्रमा कुल गरी ६० देखि ७० प्रतिशतसम्म काम भइरहेको बताइएको छ । भारतीय मिडियाहरुका अनुसार करिब ९५ प्रतिशत कालिगढ, कर्मचारी र मजदुर काममा फर्किएका छन् । अहिले पनि अमेरिका र युरोपबाट माग नआएको बताइएको छ । उत्तरप्रदेश, दिल्लीलगायतका राज्यमा औद्योगिक गतिविधि चलायमान बनिरहेको बताइएको छ ।