काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीसँग सहकार्य गरेको छ । नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्यअन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पोस उपकरणहरू जडान गरिएको छ ।
यी उपकरणहरूले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआरमार्फत भुक्तानी प्रदान गरिेन्छ । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दैआएको छ । जसले दैनिक कारोबारहरूलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्वपूर्ण योगदान पुर्याउने छ ।
स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ । बैंकले हाल एक सय ६५ वटा शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल दुई सय ७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै, एक सय ९९ वटा एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।