काठमाडौं । एनसेलले राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ ।
टाइगर कप शुक्रबारबाट पोखरामा सुरु भएको छ । पाँच वर्षदेखि निरन्तर आयोजना भइरहेको टाइगर कपमा गत वर्ष पनि एनसेल मुख्य प्रायोजक रहेको थियो । मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको जनाएको छ । ‘टाइगर कपसँगको यो सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउँछ, जुन स्थानीयस्तरमा नै हुर्किने प्रतिभासँग जोडिएको छ । साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ’, एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने उनले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गरेको यो प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा यस्तै सहकार्य, सहयोग र योगदानले देशकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता गर्न सफल भएको बताए । छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ६ टोली गरी कुल ११ टोलीहरू प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोट्र्स क्लब र थाइल्यान्ड क्विन्स गरी पाँच टोली सहभागी छन् । पुरुषतर्फ भने गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स रहेका छन् ।
प्रतियोगितामा विजेता हुने दुवै महिला र पुरुषतर्फका टोलीले आयोजकबाट समान प्रथम पुरस्कार छ लाख ६६ हजार छ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दोस्रो पुरस्कार तीन लाख ६६ हजार छ सय ६६ रुपैयाँ र तृतीय पुरस्कार दुई लाख छ हजार छ सय ६६ रुपैयाँ रहेको छ । एनसेलले भलिबलबाहेक क्रिकेट, फुटबललगायतका खेलहरूको विकासमा पनि विभिन्न सहकार्य गर्दै खेलकुदको विकासमा योगदान पुर्याएको छ ।