काठमाडौं । नेपालको एडटेक कम्पनी डिजी स्कुल अस्ट्रेलियामा पनि विस्तार भएको छ । नेपालका विद्यालयहरूमा डिजिटल साक्षरता अभियान चलाइरहेको डिजी स्कुलले अन्तराष्ट्रिय विस्तार अन्तर्गत अष्ट्रेलियामा आफ्नो उपस्थिति जनाएको हो ।
डिजी स्कुलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी स्कुललाई नेपालबाट अष्ट्रेलियापछि अमेरिकालगायतका अन्य देशहरूमा समेत विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै कोडिङ, कृत्रिम बुद्धिमता (एआई), साइबर सुरक्षा र डेटा साइन्सजस्ता विषयहरूमा दक्ष बनाउने डिजी स्कूलको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । डिजी स्कुल अष्ट्रेलियामार्फत विद्यालयतहका विद्यार्थीहरूलाई भर्चुअल माध्यामबाट आईटी तथा कोडिङ शिक्षा उपलव्ध गराइने अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनहरूमा ग्लोबल आईटी सर्टिफिकेसन कार्यक्रमहरू सुरु गरिनेछ, जसले अष्ट्रेलियाका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त सीप हासिल गरी आईटी क्षेत्रमा रोजगारीका अवसरहरू प्राप्त गर्न सहयोग पुर्याउनेछ ।’
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले डिजिटल युगमा आईटी शिक्षा महत्वपूर्ण रहेको बताए । आईटी शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी सफ्टवेयर निर्यातमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सकिने मल्लको भनाइ छ । अष्ट्रेलियामा आयोजित डिजी स्कुल शुभारम्भ कार्यक्रममा प्रमुुख कार्यकारी अधिकृत राजु बानियाँले आईटी शिक्षा र सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए । अष्ट्रेलियामा आयोजित शुभारम्भ कार्यक्रममा नेपालका विभिन्न अग्रणी विद्यालयहरूका १० भन्दा बढी प्रिन्सिपल तथा अध्यक्षहरूको सहभागिता थियो । यसले डिजी स्कुलको शैक्षिक दृष्टिकोणप्रति बलियो समर्थन रहेको स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय विस्तारसँगै डिजी स्कूलले विश्वभरका बालबालिकालाई भविष्योन्मुख प्रविधिलाई शिक्षामार्फत सशक्त बनाउने आफ्नो अभियान रहेको बताएको छ ।