वासिङटन । अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भू–भागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत् आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् । एपीका अनुसार दक्षिण क्यारोलिनाको न्युएबरी इलेक्ट्रिक कोअपरेटिभका प्रमुख कार्यकारी अधिकृत किथ एभरीले आवश्यक जनशक्ति र उपकरण तैनाथ गर्न टोलीसँग समन्वय गरिरहेको बताए । एभरीका अनुसार सन् २०२४ मा १४ हजार ग्राहकहरूलाई प्रभावित पारेको थियो, तर यसपटकको आँधी अझै खतरनाक हुन सक्ने उनको चिन्ता छ ।
‘मलाई बरफे आँधी सबैभन्दा डर लाग्छ’, एभरीले भने । अधिकारीहरूले वर्षाका कारण विद्युत् प्रणालीमा गम्भीर असर पर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । दक्षिणी राज्यहरूमा विद्युत् अवरुद्ध हुनु भनेको केवल बत्ती निभ्नु मात्र नभई घर तताउने सुविधा नै बन्द हुनु हो । अमेरिकी जनगणना ब्युरोका अनुसार अलाबामा, जर्जिया, टेक्सास, टेनेसी, क्यारोलिनाका राज्यहरूलगायत धेरै क्षेत्रमा अधिकांश घरहरू विद्युत्बाट नै तताइन्छन् ।
सन् २०२१मा आएको विन्टर स्टर्म ‘युरी’ले टेक्सासको विद्युत् प्रणाली पाँच दिनसम्म ध्वस्त पारेको थियो, जसका कारण २४६ जनाको ज्यान गएको थियो । विशेषज्ञहरूका अनुसार उक्त संकट मुख्यतः विद्युत् केन्द्र र प्राकृतिक ग्यास प्रणालीलाई चिसो मौसमअनुकूल नबनाइएकाले भएको थियो । ग्रिडरेभेन नामक कम्पनीका प्रमुख कार्यकारी अधिकृत जर्ज रुटेले युरीबाट धेरै पाठ सिकिएको भए पनि अत्यधिक चिसोका बेला ट्रान्समिसन लाइनमा समस्या देखिन सक्ने चेतावनी दिएका छन् ।
टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको विद्युत् ग्रिड अहिले पूर्णरूपमा तयार रहेको दाबी गरे पनि बरफले तारमा भार बढ्दा र रुख ढल्दा स्थानीय रूपमा विद्युत् अवरोध हुनसक्ने स्वीकार गरेका छन् । विशेषज्ञहरूका अनुसार विद्युत् अवरोधले सामाजिक असमानता पनि उजागर गर्छ । अध्ययनअनुसार हिस्पानिक समुदायमा बढी विद्युत् अवरोध देखिएको छ भने अश्वेत समुदायमा लामो समयसम्म विद्युत् नआउने समस्या बढी देखिएको छ । विद्युत् बन्द हुँदा चिकित्सकीय उपकरण प्रयोग गर्ने, शिशु स्याहार गर्ने तथा न्यून आय भएका परिवारहरू झनै जोखिममा पर्छन् ।
न्युयोर्क सिटी युनिभर्सिटीकी समाजशास्त्री जेनिफर लर्डका अनुसार करिब छ जनामध्ये एक अमेरिकी परिवार पहिल्यै ऊर्जा बिल तिर्न ढिला गरिरहेको अवस्थामा थप चिसोले आर्थिक बोझ अझै बढ्न सक्छ । ‘आँधी सकिएको एक–दुई महिनापछि ठूलो बिल आउँछ, जसले धेरै परिवारलाई विद्युत् विच्छेदको जोखिममा पुर्याउँछ’, उनले भनिन् । दक्षिणपूर्वी अमेरिकाका विद्युत् सेवा प्रदायकहरूले सम्भावित लामो समयसम्मको विद्युत् अवरोधका लागि तयारी गर्न उपभोक्तालाई आग्रह गरेका छन् । ड्यूक एनर्जीले उत्तर र दक्षिण क्यारोलिनामा लाखौं ग्राहकलाई सेवा दिने भन्दै हजारौं कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
त्यसैगरी, टेनेसी भ्याली अथोरिटीले विगतका अनुभवबाट सिकेर सयौं मिलियन डलर लगानी गरी विद्युत् प्रणालीलाई चिसो मौसमअनुकूल बनाइएको दाबी गरेको छ ।