बेइजिड., भदौ २४
चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाइँका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गरेका छन् । बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई उनले मंगलबार बिहान सम्बोधन गर्ने क्रममा प्रशंसा गरेको समाचारमा जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो ।
उक्त समयबाट सुरु भएको यस प्रकोपका कारण हालसम्म विश्वभर आठ लाख ९६ हजार नौ सय २६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंगलबार जनाएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार नौ सय ८२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९५ लाख ९२ हजार दुई सय ८० व्यक्ति कोरोनामुक्त भएका छन् ।
यद्यपि चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । चीनमा ८५ हजार एक सय ४४ कोरोना भाइरस संक्रमित भएका थिए । यस संक्रमणबाट चीनमा चार हजार छ सय ३४ जनाको मृत्यु भएको थियो । चीनमा ८० हजार तीन सय ३५ जना कोरोना भाइरसमुक्त भएका छन् । हाल चीनमा एक सय १५ जनामा मात्र कोरोना भाइरस संक्रमण रहेको छ ।