काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
राससका अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) गठबन्धनका उम्मेदवार विजयी भएका छन् । खस आर्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । दलित समूहमा एमालेका सोमनाथ पोर्तेल सात हजार चार सय २३ मतभार ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेमराज सुन्दासले दुई हजार ३७ मतभार पाएको आयोगले जनाएको छ । महिला समूहमा पनि गठबन्धनकै एमालेका रोशनी मेचे विजयी भएकी छिन् । उनले सात हजार एक सय ७३ मतभार पाए । निकटतम प्रतिद्वन्द्वी नेकपाकी नमिता न्यौपानेले दुई हजार दुई सय ६८ मतभार पाए । कोशी प्रदेशमा कुल मतदाता तीन सय ६० रहेकामा तीन सय ३४५ मत खसेका थिए ।
मधेस प्रदेशमा पनि तीन दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ कांग्रेसका उम्मेदवार रञ्जितकुमार कर्ण एवं धर्मेन्द्र पासवान, लोसपा (हाल जनता समाजवादी पार्टी (जसपा), नेपाल) का महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा निर्वाचित भएका हुन् । कर्णले आठ हजार ९३ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले एक हजार तीन सय ६१ मतभार पाए ।
यस्तै, पासवानले सात हजार नौ सय चार मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका शम्भु पासवान हजारीले एक हजार तीन सय ७६ मतभार पाएको आयोगले जनाएको छ । ठाकुरले सात हजार सात सय २५ मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार आठ सय पाँच मतभार पाए । यसैगरी झाले सात हजार दुई सय २२ मतभार प्राप्त गर्दा नेकपाका शमीकुमारी अग्रवालले एक हजार नौ सय ४४ मतभर प्राप्त गर्नुभएको छ । मधेस प्रदेशमा तीन सय ६४ मतदाता रहेकामा तीन सय ४१ मत खसेको आयोगले जनाएको छ ।
बाग्मती प्रदेशमा गठबन्धनबाट कांंग्रेसका गीता देवकोटाले छ हजार दुई सय ३९ मतभारसहित विजयी भएकी छिन् । प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झाले दुई हजार पाँच सय २२ मतभार पाइन् । देवकोटाका प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार पाँच सय ४१ मत पाएको आयोगले जनाएको छ । बाग्मती प्रदेशमा तीन सय ३८ मत रहेकामा तीन सय १८ मत खसेको थियो । यता, गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिनाले पाँच हजार ३३ मतभार प्राप्त गर्दै विजयी भए । प्रतिस्पर्धी नेकपाका कपिल लामाले नौ सय ४१ मतभार पाए । महिला समूहमा एमालेकी सम्झना देवकोटा पाँच हजार १४ मतभारसहित विजयी भइन् भने प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले नौ सय ४१ मतभार पाइन् । उक्त प्रदेशमा दुई सय २८ मतदाता रहेकामा दुई सय २३ मत खसेको थियो ।
लुम्बिनी प्रदेशमा गठबन्धनबाट अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जङ्गली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री विजयी भएकी छिन् । जङ्गलीले पाँच हजार तीन सय २२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपाका सजन विकले एक हजार छ सय एक मतभार ल्याए । केसीले पाँच हजार नौ सय ७७ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाका बृहस्पति अधिकारीले एक हजार आठ सय ३२ मत प्राप्त गरे । यस्तै, झाँक्रीले छ हजार तीन सय ३० मतभार पाउँदा नेकपाका उम्मेदवार दुर्गा भण्डारीले एक हजार तीन सय ६२ मतभार पाइन् । लुम्बिनी प्रदेशमा दुई सय ९९ मतदाता रहेकामा दुई सय ८६ मत खसेको थियो ।
यसैगरी कर्णाली प्रदेशमा गठबन्धनबाट कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही र एमालेका मीनासिंह रखाल विजयी भएका छन् । शाहीले तीन हजार दुई सय ७८ र रखालले तीन हजार एक सय ४५ मतभारसहित विजयी भएका हुन् । शाही अन्य र रखाल महिला समूहबाट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपाबाट बुद्धिप्रसाद शर्माले एक हजार छ सय ३९ र अञ्जु महतरा (शाही)ले एक हजार सात सय ३४ मतभार प्राप्त गरेका थिए । कर्णाली प्रदेशमा एक सय ९८ मतदाता रहेकामा एक सय ९१ मत खसेको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी विजयी भएका छन् । खातीले तीन हजार नौ सय ६९ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका टिकाराम जैशीले एक हजार आठ सय पाँच मतभार पाए । यस्तै, भण्डारीले तीन हजार आठ सय ९४ मतभार प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेकपाका रोजी बस्नेतले एक हजार छ सय ७६ मतभार पाइन् ।
सुदूरपश्चिम प्रदेशमा दुई सय २४ मतदाता रहेकामा दुई सय २० मत खसेको थियो । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ कायम गरिएको थियो । निर्वाचनमा कांग्रेस नौ, एमाले आठ र लोसपालाई एक गरी तीन दलीय गठबन्धन भएको थियो । लोसपाको मधेस प्रदेशमा मात्र उम्मेदवारी परेको थियो ।