काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘फेक रेस्क्यु’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ट्राभल व्यवसायीलाई पक्राउ गरेको छ । ‘फेक रेस्क्यु’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गरेको सूचनाहरू सार्वजनिक भएको लामो समयपछि प्रहरीले संलग्न छ जनालाई पक्राउ गरेको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै सीआईबीले फेक रेस्क्युमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालक पक्राउ गरेको बताएको छ । सीआईबीका अनुसार पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन् । पक्राउ परेका रिमाल र पाण्डे माउन्टेन रेस्क्यु सर्भिसमा, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालिमा र पाण्डे र कसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिमा आबद्ध रहेका थिए ।
पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीले अदालतबाट पक्राउ अनुमति लिएर आइतबार नै उनीहरूलाई पक्राउ गरेको बताए । उनका अनुसार उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ । उनले पर्यटकहरूबाट रेस्क्युको नाममा चर्को शुल्क लिएको समेत जानकारी दिए ।
‘माउन्टेन रेस्क्यु सर्भिस प्रालिले एक हजार दुई सय ४८ जनामध्ये एक सय ७१ जनाको फेक रेस्क्यु गरेको अनुसन्धानबाट खुलेको छ’, उनले भने, ‘सोबापत उक्त कम्पनीले १ करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको पाएका छौँ ।’
सीआईबीले सार्वजनिक गरेको तथ्यांकअनुसार यी तीनवटा कम्पनीले मात्रै कुल १९.६९ मिलियन अमेरिकी डलर (करिब दुई अर्ब ८६ करोड नेपाली रुपैयाँ) बराबरको शंकास्पद बीमा दाबी गरेको पाइएको छ । सबैभन्दा बढी माउन्टेन रेस्क्यु सर्भिस प्रालिले एक हजार दुई सय ४८ जनामध्ये एक सय ७१ जनाको उद्धारलाई शंकास्पद देखाएर एक करोड तीन लाख १० हजार दुई सय ७६ डलर दाबी गरेको छ ।
त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले चार सय ७१ जनाको उद्धारमा ७५ जनाको फेक रेस्क्यू गरी ८२ लाख ३४ हजार ८२ डलर र एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले छ सय एकमध्ये ७१ जनाको शंकास्पद उद्धार देखाएर ११ लाख ५३ हजार नौ सय १९ डलर दाबी गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।
ब्युरो प्रमुख केसीले फेक रेस्क्युको उजुरी अझै आइरहेको बताए । ‘विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको खबरलाई लिएर अनुसन्धान सुरु गरेका थियौँ’, उनले भने, ‘साढे दुई महिनाको अनुसन्धान गर्दा फेक रेस्क्युबारे धेरै पाटा खुलेको छन् । थप अनुसन्धान जारी छ ।’