काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले भृकुटीमण्डपमा ‘महोत्सव–काठमाडौं विजनेस एक्स्पो’ गर्ने भएको छ ।
संघले बुधबार अर्थात् माघ १४ देखि १७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउँदै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ । महोत्सवले घरेलु तथा साना उद्योग, स्टार्ट–अप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र दृश्यता प्रदान गर्ने विश्वास लिइएको छ । महोत्सवमा दुई सयभन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरू समावेश हुनेछन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायतका बहुआयामिक गतिविधिहरू सञ्चालन गरिनेछ । महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।
महोत्सवमार्फत स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, व्यवसायिक नेटवर्किङ प्रवर्द्धन, रोजगारीका अवसर सृजना तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिइएको छ । साथै काठमाडौँ महानगरपालिकाको ‘एक वडा–एक नमूना उत्पादन’ अवधारणालाई सहकार्य गर्दै बजार प्रवर्द्धनमा समेत विशेष जोड दिइनेछ । महोत्सवमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फुड एनड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात तथा जिल्लागत विशेष उत्पादनहरूलगायतका विविध क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहनेछ ।
अवलोकनकर्ताहरूमा सर्वसाधारण, व्यवसायी, उद्यमी, युवा उद्यमी, विद्यार्थी, स्टार्ट–अप, पर्यटक, फुड लभर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास लिइएको छ । महोत्सव काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा हुन लागेको हो ।