काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’ भन्ने नाराका साथ चेम्बरले आईतबार एक कार्यक्रमको आयोजना गरि भन्सार दिवस मनाएको हो ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, भन्सार विभागका उच्च अधिकारी, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खनालले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरेका थिए । सो अवसरमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रणालीलाई पारदर्शी, चुस्त र समाजमैत्री बनाउन भन्सार प्रशासनको भूमिका महत्वपूर्ण रहेको उनले बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्सार प्रशासन र निजी क्षेत्रबीचको सहकार्यले मुलुकको व्यापार, राजस्व संकलन तथा आर्थिक विकासमा सकारात्मक योगदान पु¥याउने बताए । कार्यक्रममा भन्सार विभाग र नेपाल चेम्बर अफ कमर्सबीच समन्वय, सतर्कता र प्रतिबद्धताका माध्यमबाट समाज संरक्षणमा भन्सारको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।