राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेका छन्। नेपालगञ्जमा बालेन शाहका समर्थक सवार गाडीबाट खसे, ४–५ जना सामान्य घाइतेबालेन शाह नेपालगञ्ज जाने कार्यक्रम रहेकाले उनका समर्थकहरू स्वागतका लागि विमानस्थल पुगेका थिए। सो क्रममा समर्थकहरू सवार गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार ४–५ जना समर्थक गाडीबाट खसेको सूचना प्राप्त भएको हो। घटनास्थल विमानस्थलभित्रैको सडक भएकाले गाडी तीव्र गतिमा नरहेको र घाइतेहरू सामान्य अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका छन्। उनी हाल चुनावी प्रचार–प्रसारका लागि पश्चिम नेपाल पुगेका हुन्। बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। झापामा उम्मेदवारी दर्ता गरिसकेपछि उनी पूर्वी पहाडी जिल्लाको भ्रमण गरेर काठमाडौं फर्किएका थिए। त्यसपछि उनी आज पश्चिमतर्फ प्रस्थान गरेका हुन्।