काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको आग्रहलाई सम्बोधन गरेको छ । सोमबार बैंक तथा वित्तहरुलाई सर्कुलर जारी गर्दै चुनावको लागि छुट्टै खाता खोल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
‘निर्वाचन आयोग नेपालको अनुरोधबमोजिम आम निर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेगरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा आम निर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै)का नेपाली मुद्रा रुपैयाँ पैसाको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवं स्वतन्त्र उम्मेदवारहरूलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, सर्कुलरमा उल्लेख छ ।
यसरी खोलिने बैंक खाताको हकमा यस बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा रहेको बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको राष्ट्र बैंकको भनाइ छ ।