काठमाडौं । युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा ब्राण्डिङ गर्न जर्मनीको मोटर तथा पर्यटन मेला (सिएमटी) मा नेपालले सहभागीता जनाएको छ ।
नेपाली पर्यटन व्यवसायीहरूले जर्मनीको स्टुटगार्टमा जनवरी १७ देखि २५ सम्म आयोजित मेला सिएमटीमा सहभागिता जनाएका हुन् । नेपाल–जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरको संयोजनमा नेपाली व्यवसायीहरु मेलामा सहभागी भएका थिए । नेपाल राइजन ट्रेक्स एन्ड एक्स्पेडिसनका शेरबहादुर परियार तथा जर्मनीस्थित शेर्पा राइजनका नाम्ग्याल शेर्पा पनि मेलामा सहभागी थिए । सहभागी सबै पर्यटन उद्यमीहरू जर्मन तथा युरोपेली बजारमा तीन दशकभन्दा बढी अनुभव भएका स्थापित व्यवसायीहरू हुन् । संघको समन्वयमा सम्पन्न यस सहभागिताको मुख्य उद्देश्य जर्मनी तथा युरोपमा नेपालको पर्यटन प्रवद्र्धनलाई थप सशक्त बनाउनु रहेको थियो ।
मेलामा सहभागीहरुले नेपालको साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा दिगो पर्यटनका सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय दर्शक तथा व्यवसायीहरूमाझ प्रभावकारीरूपमा प्रस्तुत गरेका थिए । यस वर्षको सिएमटी मेलामा २ लाख ६६ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो भने करिब एक हजार छ सय प्रदर्शकहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गरेका थिए । विश्वका विभिन्न देशहरूको सहभागिता रहेको यस मेलामा अंगोला सन् २०२६ का लागि आधिकारिक साझेदार देशका रूपमा चयन गरिएको थियो । सन् १९६८ मा पहिलो पटक आयोजना गरिएको सिएमटी मेला प्रारम्भमा मोटरस्पोर्ट तथा मनोरञ्जन प्रदर्शनीका रूपमा सुरु भएपनि समयक्रममा विस्तार हुँदै पर्यटन, काराभानिङ तथा मनोरञ्जन क्षेत्रको विश्वकै ठूला सार्वजनिक व्यापार मेलामध्ये एकका रूपमा स्थापित भइसकेको छ ।
अध्यक्ष कुँवरले संघले पनि ३० वर्षदेखि निरन्तररूपमा सिएमटी मेलामा सहभागिता जनाउँदै आएको जानकारी दिए । यस्ता अन्तर्राष्ट्रिय मेलाहरू नेपाली पर्यटन व्यवसायका लागि अत्यन्त लाभदायक रहेको उनको भनाई छ । यसले युरोपेली बजारमा नेपाली उद्यमीहरूको व्यवसाय प्रवर्द्धन, दिगोपन र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको उनले बताए । साथै, भविष्यमा नेपाललाई सिएमटी मेलाको साझेदार देशका रूपमा प्रस्तुत गर्ने सम्भावनाबारे सिएमटी व्यवस्थापनसँग छलफल समेत भएको उनले जानकारी दिए । यसका लागि नेपाल सरकार र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक हुने उनको भनाइ छ ।
जर्मनी–नेपाल पर्यटन व्यवसायमा लामो अनुभव हासिल गरेका नाम्ग्याल शेर्पाले जर्मन र नेपाली पर्यटन व्यवसायबीच सहकार्यका व्यापक सम्भावना रहेको बताए । युरोपेली पर्यटकहरूको रुचिअनुसार पर्यटन उत्पादनलाई अझ परिष्कृत गर्दै प्रभावकारी प्रवर्द्धन र संस्थागत सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।