काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । यसअघि नै उपलब्ध अटम अफरअन्तर्गतका प्याकेजहरुलाई सेवाग्राहीले रुचाएकोले त्यसैलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पहिलेदेखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टलसहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याकलगायतका प्याकेजहरु यथावत् उपलब्ध छन् । टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरुका लागि प्याकेज तथा नमस्ते वाइफाई प्रयोगकर्ताहरुका लागि उपलब्ध बन्डल प्याकेजलगायतका प्याकेजहरु समेत उपलब्ध छन् । त्यसैगरी एफटीटीएचअन्तर्गतका प्याकेजहरु पनि यथावत् राखिएका छन् ।
टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रुपमा निरन्तरता दिइएको छ । यसअनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताहरुले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ । पहिले स्टार १४१५ स्टार २ स्टार ४ ह्याक्स डायल गरेर मात्रै रिकरिङ प्याकेज लिन सकिने व्यवस्था रहेकोमा अब कम्पनीको मोबाइल एप (नेपाल टेलिकम एप) तथा वेबसाइटबाट समेत यो प्याकेज लिन सकिने व्यवस्था हुनेछ । विन्टर अफरअन्तर्गतका विभिन्न प्याकेज माघ ११ गतेदेखि उपलब्ध भएको र आगामी ९० दिनसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।