काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारीचालक अनुमतिपत्र वितरणमा घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जनाको मोबाइल फोन नियन्त्रणमा लिएको छ।
कार्यालयका कर्मचारीहरूले विचौलियामार्फत सवारीचालक अनुमतिपत्र दिलाइदिने भन्दै सेवाग्राहीबाट घुस असुल्ने गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो। सोही क्रममा आयोगले २७ जनाबाट ३७ थान मोबाइल फोन जफत गरेको जनाएको छ।
नियन्त्रणमा लिइएकामध्ये १७ जना यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारी रहेका छन्। यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरी कर्मचारीको मोबाइल समेत जफत गरिएको छ।
त्यसैगरी, लाइसेन्स प्रक्रियामा संलग्न विभिन्न विचौलियाहरूको मोबाइल फोन पनि अख्तियारले नियन्त्रणमा लिएको आयोग स्रोतले जानकारी दिएको छ। अख्तियारका अनुसार जफत गरिएका मोबाइलका आधारमा घुस लेनदेन, विचौलियाको संलग्नता र संगठित नेटवर्कबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा संलग्नता पुष्टि भए कानुनी कारबाही अघि बढाइने आयोगले जनाएको छ।