काठमाडौं । सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति तथा गालीगलौज गरेको आरोपमा युवराज ‘सफल’ भनिने युवराज पौडेल पक्राउ परेका छन्।महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई लक्षित गरी अपशब्द, नकारात्मक टिप्पणी तथा गालीगलौज गरिएको सामग्री विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनीविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो। महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते युवराज पौडेलविरुद्ध आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गरिदिन माग गर्दै प्रहरीलाई पत्र पठाएको थियो। उक्त पत्र प्राप्त भएपछि पनि उनले महान्यायाधिवक्ता र कार्यालयबारे तथ्यहीन कुराहरू समेटिएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पौडेललाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।