काठमाडौं । विश्व बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरिरहँदा बैंक तथा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा कर्जा बढाएका छन् । पछिल्लो केही महिनादेखि लगातार मूल्य बढिरहँदा नेपाली बैंक तथा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा झण्डै एक खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तीन लाख नौ हजार तीन सय र चाँदी छ हजार आठ सय ७० रुपैयाँ पुगेको छ । यो सुनको मूल्यमा बनेको हालसम्मकै उच्च मूल्य हो । वल्र्ड गोल्ड काउन्सिलका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य इतिहासकै उच्च अर्थात् प्रतिऔँस पाँच हजार अमेरिकी डलर पुगेको छ । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान कायम भइरहँदा नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा कर्जा बढाएको देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिरसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका कुल ५४ वटा संस्थाहरूले सुनचाँदी धितोमा कुल ९४ अर्ब ५४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २८ अर्ब ९८ करोड ४० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा मात्र कुल ६५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा दिएका थिए । घरजग्गाजस्तै सुनचाँदी पनि लगानीको लागि भरपर्दो स्रोत भएको र विश्व बजारमा सुनचाँदीको मूल्य केही अपवादबाहेक सधैँजसो बढ््ने भएकाले पनि बैंक तथा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा कर्जा बढाएको हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले मात्र चालू आवको मंसिर मसान्तसम्ममा सुनचाँदी धितोमा मात्र कुल ८७ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २७ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा मात्र कुल ६० अर्ब २२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरूले भने चालू आवको मंसिर मसान्तसम्ममा सुनचाँदी धितोमा कुल छ अर्ब १६ करोड १० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ९२ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले सुनचाँदी धितोमा मात्र कुल चार अर्ब २३ करोड ८० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले भने चालू आवको मंसिर मसान्तसम्ममा सुनचाँदी धितोमा कुल ८२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २७ करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा एक अर्ब १० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।