काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई गर्ने आर्थिक सहयोग बैकिङ प्रणालीबाट मात्रै गर्न आग्रह गरेका छन् ।
निर्वाचन आयोगले मंगलबार आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरूसँगको अन्तक्र्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गरेका हुन् । दल र उम्मेदवारले बैंकिङ प्रणालीविपरीत कारोबार गरेमा उजुरी गरेर सहयोग गर्न पनि उनले आग्रह गरे । नगद कारोबार गरेको पाइएमा उम्मेद्वारी रद्दसम्मका कारबाही गर्न सक्ने कानुनी व्यवस्था रहेको उनले बताए । उनले मुलुकलाई बङ्गलादेश जस्तो नबनाउन सबै पक्षले निर्वाचनलाई सहयोग गर्नुपर्ने बताए । भदौ २३ र २४ गतेको अवस्थाबाट देशलाई लयमा फर्काउन निर्वाचन नै उपयुक्त माध्यम रहेको उनको भनाइ थियो । उनले निर्वाचनपछि सुशासन र स्थायी शान्तिको लागी आवाज उठाउन सकिए पनि हालको आवश्यकता निर्वाचन नै भएको बताए । निर्वाचन बिथोल्ने शक्ति अहिले क्षीण भएर गएकाले फागुन २१ गते निर्वाचन हुने विषयलाई अब कसैले नकार्न नसक्ने उनले दाबी गरे । उनले निर्वाचन आचारसंहिताको पूर्णपालना नगरेमा कानुनअनुसारका कारबाही गर्ने प्रक्रिया अघि बढाइने बताए ।
आयोगका सचिव कृष्णबहादुर राउतले निजी क्षेत्रले निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने बताए । निर्वाचनका क्रममा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने जानकारी गराउँदै उनले त्यसबाट निजी क्षेत्र पनि चलायमान हुने जानकारी दिए । निजी क्षेत्रका प्रतिनिधिहरूले पनि आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कडाइका साथ कार्यन्वयनमा ल्याउन आग्रह गरे । आचारसंहिता पालना भएमात्र स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपामा निर्वाचन हुने उनीहरूको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निर्वाचन सम्पन्न गराएर स्थिर सरकार बनाउन आवश्यक रहेको बताए । निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक रहेको उनको भनाइ थियो । निर्वाचनमा उम्मेदवारहरूले खर्च विवरण लिँदा पारदर्शी रूपमा बैंकबाटै कारोबार गर्ने व्यवस्था राम्रो भएकाले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन उनले आग्रह गरे । महासंघको केन्द्र र सबै शाखाहरूबाट पनि निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा प्रचारप्रसार गरेर निर्वाचन सम्पन्न गराउन आयोगलाई सहयोग गर्ने उनले बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्णपालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने बताए । आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल कारबाही गर्न उनले सुझाव दिए । उद्योग क्षेत्रलाई व्यवस्थित निष्पक्ष र लगानीमैत्री बनाउन स्पष्ट सीमा र पारदर्शी लेखा प्रणाली आवश्यक भएको उनले बताए । निर्वाचन आचारसंहिता पालना र मतदाता शिक्षाको लागि उद्योग क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो । यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै मतदाता शिक्षामा आयोगले अझ ध्यान दिनुपर्ने बताए । त्यसका लागि आयोगलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा हवाइ तथा स्थलमार्गबाट नेपाल भित्रने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुग्नका लागि सहज वातावरण बनाउने गरी सहयोग गर्न आयोगलाई आग्रह गरे । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि अन्तर्राष्ट्रिय जगत्मा नै नेपालमा शान्ति पूर्ण रूपमा निर्वाचन हुन सक्दैन भन्ने भ्रम रहेको भन्दै उनले त्यस्तो किसिमका भ्रमलाई गलत सावित गर्नको लागि पनि निर्वाचनको समयमा आउने पर्यटकको उचित व्यवस्थापन आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराए । निर्वाचनको समयमा आवश्यक सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
रेष्टुराँ तथा बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष संघर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले सहजीकरण गर्नुपर्नेमा जोड दिए । निर्वाचनसम्बन्धी सकारात्मक सूचना विश्व बजारमा पुर्याउन पर्यटन व्यवस्थापन आवश्यक भएको उनले बताए । साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुनेगरी ध्वनि प्रदूषण भएको विषयप्रति आयोगको ध्यानाकर्षण गराइन् ।
नेपाल उद्योग परिसंघका महानिर्देशक घनश्याम भुसालले सातै प्रदेश र जिल्लामा निर्वाचन आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोग गर्ने बताए । महिला उद्यमी महासंघका मल्लिका श्रेष्ठले मतपत्रको नमूना निकाल्न राजनीतिक दललाई दिँदा राजनीतिक दलहरूले आफ्नो निर्वाचन चिह्नमा छाप लगाएको मतपत्र मतदातासमक्ष देखाउने गरेकोले केही मतदाता अन्योलमा पर्ने गरेको बताइन् । निर्वाचनको समयमा महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रयोग गर्न पनि उनले आग्रह गरिन् । महिलाहरूको लागि निर्वाचनसम्बन्धी चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।