मुस्ताङ । जिल्लाका विभिन्न भेगमा मङ्गलबार रातिदेखि भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा हिमपातका कारण पूरै सेताम्मे भएका छन् भने अधिकांश स्थानमा वर्षा पनि भएको छ ।
भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको बताए ।
त्यसैगरी, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा पनि मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् ।
जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए ।