गण्डकी । गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनौट भएका छन् । नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका छनौटमा परेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ वटा प्रस्ताव पेस भएकामा प्रदेश छनौट तथा सिफारिस समितिले मूल्यांकन गरी आठवटा परियोजना प्रस्ताव स्वीकृत भएको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिइन् । नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि संघीय ससर्ततर्फको चार करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताइन् । ‘नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले अनुदान प्राप्त गर्छन्, बढीमा ३० प्रतिशत स्थानीय तहको साझेदारी रहन्छ’, उपसचिव लामिछानेले भनिन् । नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत देवचुली नगरपालिकामा कृषक पाठशाला परियोजना, पुतलीबजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवर्द्धन परियोजना र सहिद लखन गाउँपालिकामा मनकामना फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ ।