काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरूको टोली सर्वोच्च अदालतमा ‘डेलिगेसन’का लागि जाने भएका छन् ।
सांसदहरूको डेलिगेसन आज माघ १५ गते बिहान १०ः३० बजे सर्वोच्च अदालतमा जाने कार्यक्रम रहेको कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
गत मंसिर २१ गते नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका घिमिरे, सचेतक सुशीला थिङ र अन्य केही सांसदका तर्फबाट वारेस रहेका श्रवणकुमार श्रेष्ठले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाका लागि रिट दिएका थिए । त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिनु नै संवैधानिक भएकोे तर त्यसो नगरिएको जिकिर गरिएको थियो ।
संसद्को सदस्य नै नरहेको व्यक्ति प्रधानमन्त्री नियुक्त हुनुलाई असंवैधानिक कदम संज्ञा दिइएको थियो । संसद् पुनर्स्थापना माग गर्दै कांग्रेससहित विभिन्न दलका निवर्तमान सांसदले रिट दिएका हुन् । यसको टुंगो लाग्न बाँकी नै भए पनि सरकारले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारेको छ ।