काठमाडौँ । लाखौँ संख्यामा विदेशमा कामका लागि नेपाली श्रमिक जाने गरेको त सबैलाई थाहा छ । तर हजारौँ संख्यामा विदेशीहरू पनि नेपालमा काम गर्न आउँछन् भन्ने सुन्नुभएको छ ? श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपालको विभिन्न क्षेत्रमा काम गर्न हजारौँ दक्ष विदेशी श्रमिक आउने गरेका छन् ।
उनीहरूले रूपान्तरणकारी योजना, राष्ट्रिय महत्वका योजना, राष्ट्रिय गौरवका योजना तथा निजी क्षेत्रका उद्योग तथा व्यवसायमा काम गर्नेगरेका हुन् । हाल २२ हजार चार सय १२ जना विदेशी दक्ष श्रमिक नेपालमा कार्यरत रहेको श्रम तथा सुरक्षाजन्य विभागले जनाएको छ । यसमध्ये १९ हजार सात सय नौ जना पुरुष र दुई हजार सात सय तीन जना महिला छन् ।
विभागका प्रवक्ता एवं इन्जिनियर मणिनाथ गोपका अनुसार बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी श्रमिक नेपालमा काम गर्न आएका हुन् । मुलुकमा दक्ष जनशक्ति नभएको खण्डमा विदेशबाट ल्याउन सक्ने प्रावधानका कारण उनीहरू नेपाल आउने गरेको उनको भनाइ छ ।
‘विभिन्न संघ संगठनले दक्ष विदेशी श्रमिक ल्याउनका लागि आवेदन दिन्छन्’, उनले भने, ‘उनीहरूको आवश्यकता पूरा गर्न विदेशी श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्छौँ ।’ सरकारले सकेसम्म स्वदेशी श्रमिक प्रयोग गर्ने र अभाव भएको खण्डमा आपूर्ति गर्नसक्ने व्यवस्था गरेको विभागले जनाएको छ ।
‘विभिन्न संस्था तथा परियोजना सञ्चालनहरूले आफ्नो आवश्यकताअनुरूप विश्वबजारमा दक्ष जनशक्तिको लागि विज्ञापन गर्दछ’, उनले भने, ‘रुचि हुनेले नेपाल आउन चाहन्छन् र श्रम स्वीकृति लिई काम गर्ने गर्छन्, विशेषगरी जलविद्युत्, नागरिक उड्डयान, स्वास्थ्यलगायतका क्षेत्रका लागि आवश्यक जनशक्तिको विज्ञापन गर्नेगरेको पाइन्छ ।’
विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सयभन्दा बढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन् । पछिल्लो समय नेपालमा काम गर्ने विदेशी श्रमिकमा बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको संख्या बढी रहेको छ । विभागका अनुसार हालसम्म सबैभन्दा बढी १० हजार आठ सय ४१ जना चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन् । जसमध्ये श्रम स्वीकृति नवीकरण गर्ने तीन हजार नौ सय चार जना र नयाँ श्रम स्वीकृति लिने छ हजार नौ सय ३७ जना चिनियाँ श्रमिक रहेका छन् ।
नेपालमा आउने दक्ष श्रमिकहरू सार्क मुलुक, एसिया, युरोप, अमेरिका र अफ्रिका महादेशबाट समेत आएको देखिन्छ । विभागको तथ्यांकलाई हेर्दा बेलायतका छ सय ७८ जना, अमेरिकाका पाँच सय सात जना, दक्षिण कोरियाका तीन सय ८८ जना, भारतका तीन सय २२ जना, जापानका तीन सय ८६ जना, अष्ट्रेलियाका एक सय ८४ जना, श्रीलंकाका एक सय ५१ जना, जर्मनीका एक सय ३८ जना, फ्रान्सका एक सय २१ जना, फिलिपिन्सका एक सय १६ जना, इटालीका ९९ जना, र बंगलादेशका ८६ जना श्रमिकले श्रम स्वीकृति लिएका छन् । त्यस्तै क्यामरुनका ६६ जना, क्यानडाका ९९ जना, ब्राजिलका ३९ जना, फिनल्यान्डका ४८ जना, घानाका ३३ जना, डेनमार्कका २२ जना, इजिप्टका २२ जना, केनियाका नौ जना, उत्तर कोरियाका आठ जना र काजकस्तानका दुई जना श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
चिनियाँहरू भने होटल, पर्यटन क्षेत्रमा व्यवसाय सञ्चालनका साथै पूर्वाधारका परियोजनामा कार्यरत रहेका विभागका अधिकारीहरूको भनाइ छ । बेलायत, अमेरिकालगायतका मुलुकका नागरिक भने यहाँँ विभिन्न परियोजनामा काम गर्नुका साथै अध्यापनका लागि समेत आउने गरेको उनीहरूको भनाइ छ । श्रम ऐन २०४८ (संशोधन २०५४)ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । श्रम ऐन, २०४८ को दफा ४ (क)मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवदेन दिनसक्ने व्यवस्था गरिएको छ ।
दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नु पर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।
विदेशी दक्ष श्रमिक नेपालमा आउने भएसँगै आपूर्तिकर्ता संस्थाहरूको संख्या समेत बढ्दोरूपमा रहेको छ । हालसम्म चार सय ३१ वटा संस्थाले विदेशी श्रमिक आपूर्तिकर्ताका लागि अनुमति लिएको छ भने दुई सय ७६ वटा संस्थाले नवीकरण गरेका छन् । विभागले विदेशी नागरिकको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका–२०७५ अनुसार विदेशी श्रमिकलाई श्रम इजाजत दिँदै आएको छ ।
विभागका अनुसार नेपालमा काम गर्न आउने विदेशी श्रमिकलाई सम्बन्धित मन्त्रालयको सिफारिस र गृह मन्त्रालयका कार्य सहमतिका आधारमा मात्रै श्रम स्वीकृति दिँदै आइएको पाइन्छ । विभागले विदेशी श्रमिकलाई एक वर्षका लागि श्रम इजाजत दिने गरेको छ । प्रत्येक वर्ष श्रम इजाजत नवीकरण गर्नुपर्छ । विशिष्ट दक्ष प्राविधिक श्रमिकको हकमा पटक–पटक गरी बढीमा पाँच वर्ष र अन्य विदेशी श्रमिकको हकमा पटक–पटक गरी बढीमा तीन वर्षका लागि श्रम इजाजत दिनेछ ।
छ महिनाको अवधिका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ र छ महिनाभन्दा बढी अवधिका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ । विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ ।