काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी एक वर्षभित्र नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने गरी सबै निकायले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस २०८२ का अवसरमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले तोकिएको समयभन्दा अघि नै आवश्यक सुधार कार्य सम्पन्न गरी नेपाललाई ग्रे लिस्टबाट बाहिर आउनुपर्नेमा जोड दिए । उनले यी सुधार अन्तरराष्ट्रिय दबाबका कारण नभई देशको वित्तीय प्रणालीलाई पारदर्शी, भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने उद्देश्यका साथ अघि बढाइएको स्पष्ट पारे । सम्पत्ति शुद्धीकरण निवारणका सुधारले अतिरिक्त आर्थिक दायित्व नथप्ने पनि उनको भनाइ थियो । विदेशी लगानी अपेक्षाअनुसार नआउनुमा वित्तीय प्रणालीप्रतिको कमजोर विश्वास पनि कारण भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले सुधारमार्फत लगानी वातावरण सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । एफएटीएफ र एसिया प्यासिफिक ग्रुपले जनवरी २०२७ सम्म सुधार गर्नुपर्ने विषयहरू सिफारिस गरेको उल्लेख गर्दै उनले पछिल्लो एक वर्षमा केही प्रगति भएपनि अबको एक वर्षभित्र बाँकी सबै सुधार पूरा गर्नुपर्ने बताए । २०२६ को अन्त्यसम्म सबै सुधार सम्पन्न हुने अपेक्षा राखेको उनले बताए ।