काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो १९औँ वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो । बैंकमा खाता खोल्नको लागि ग्राहकहरूले बैंकको काठमाडौँको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रुपमा आफ्नो बैंक खाता खोल्न सक्ने छन् । यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरू किओस्क मेसिनमार्फत प्रदान गर्नुपर्ने छ । तत्पश्चात्, आवश्यक कागजातहरू प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइने छ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ । यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्समार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिटजस्ता सेवाहरू उपलब्ध गराइरहेको थियो । भविष्यमा यस्ता सेवालाई बैंकले अरु स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको छ ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, एक सय ५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउ“दै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ ।