दोलखा । दोलखाको जिरी नगरपालिका–५ स्थित चोर्दुङ चीज उत्पादन तथा बिक्री वितरण केन्द्र दूध अभावका कारण वर्षको करिब पाँच महिना बन्द हुने गरेको छ ।
उद्योग बन्द हुँदा यहाँ कार्यरत कर्मचारीहरू कामविहीन बनेका छन् । वैशाखदेखि कात्तिकसम्म मात्रै सञ्चालन हुने उक्त केन्द्र मंसिरदेखि वैशाखसम्म अफसिजनमा बन्द रहन्छ । अफसिजनमा केन्द्रमा कार्यरत ६ जना कर्मचारी दाउरा संकलन र घाम ताप्दै समय बिताउने गरेका छन् । २०२८ सालमा नेपाल सरकारको दुग्ध विकास संस्थानअन्तर्गत स्थापना भएको यो केन्द्र कुनै समय दैनिक चार सय लिटर दूध संकलन गर्ने गथ्र्यो । तर हाल सिजनमा पनि दैनिक एक सय ५० देखि दुई सय लिटर मात्रै दूध संकलन हुने गरेको केन्द्र प्रमुख मकरबहादुर जिरेलले बताए । उनका अनुसार ५–६ वर्षअघि १२ देखि १५ वटा चौरी गोठबाट दूध आउने गरेकामा हाल ५–६ वटा गोठमा सीमित भएको छ । दूध उत्पादन घटेसँगै केन्द्रको वार्षिक आम्दानी पनि घटेर ४०–५० लाख रुपैयाँमा सीमित भएको छ, जबकि केही वर्षअघि वार्षिक एक करोड रुपैयाँभन्दा बढीको चीज उत्पादन तथा निर्यात हुने गर्थ्यो ।
उद्योगमा चीज पकाउन दाउरा प्रयोग हुने भएकाले कर्मचारीहरू माथिल्लो लेकका जंगलमा दाउरा संकलन गर्न बाध्य छन् । अफसिजनमा के गर्नुहुन्छ भन्ने प्रश्नमा केन्द्र प्रमुख जिरेलले भने, ‘सबैजना दाउरा खोज्न जान्छौँ ।’ तर आइतबार केन्द्रमा रहेका छ कर्मचारीमध्ये तीन जना कार्यालय परिसरमै सुतिरहेको अवस्थामा भेटिएका थिए भने बाँकी कर्मचारीको अवस्थाबारे स्पष्ट जानकारी नभएको स्थानीयले बताए । चोर्दुङ क्षेत्र समुद्री सतहदेखि करिब २ हजार ६ सय ३३ मिटर उचाइमा अवस्थित छ । जिरी बजारबाट केन्द्र पुग्न सवारीसाधनमा करिब ४५ मिनेट लाग्छ । तर वर्खायाममा बाटो अवरुद्ध हुने भएकाले चीज बोकेर बजार पुर्याउनुपर्ने बाध्यता रहेको कर्मचारी तेन्जी शेर्पाले बताए । बाटोको पहुँच नहुँदा पनि दूध संकलन घट्दै गएको उनको भनाइ छ ।
जिरीसँगै गौरीशंकरस्थित सहायक चीज उत्पादन केन्द्र पनि दूध अभावकै कारण हाल बन्द अवस्थामा छ । साउन–भदौको मुख्य सिजनमा यी केन्द्रहरूबाट वार्षिक करिब चार हजार केजी चीज उत्पादन हुने गरेको छ ।