काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनारलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै राजावादी समूहले भोलि काठमाडौँको माईतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ।
राष्ट्रवादी युवा समूहको आयोजनामा हुने उक्त प्रदर्शनमा सर्वपक्षीय सरकार गठन, दीर्घकालीन तथा स्थायी राजनीतिक व्यवस्थाका लागि राजालाई समेटेर निर्वाचन गरिनुपर्ने लगायतका मागसमेत राखिने आयोजकहरूले बताएका छन्।
आयोजक मध्येका सन्तोष सिलवालले सुनारले दिएको ‘गाई काटेर खान पाउनु पर्छ’ भन्ने अभिव्यक्ति हिन्दू धर्मावलम्बीहरूको आस्था, संस्कार र परम्पराविरुद्ध भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्नुपर्ने बताएका छन्।
“हिन्दू समुदायको सदियौँदेखिको सामाजिक मेलमिलाप र साम्प्रदायिक एकताको विरुद्ध जाने व्यक्तिले जनप्रतिनिधि बन्नु उचित हुँदैन,” उनले भने।
राजावादी समूहले नेपालको संविधान २०७२ को धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावरका रूपमा मान्यता दिइएको उल्लेख गर्दै, यस्तो अभिव्यक्ति राष्ट्रिय एकता र संविधानको संरक्षणसँग सम्बन्धित विषय भएको दाबी गरेका छन्।
“यस्ता अभिव्यक्ति दिने व्यक्तिलाई सरकारले तत्काल पक्राउ गरी मुद्दा चलाउनु पर्छ,” उनीहरूले माग गरेका छन्। यसअघि सुनारको उक्त अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको थियो। सो उजुरीका आधारमा आयोगले माघ १४ गते सुनारसँग स्पष्टीकरण सोधेको थियो।