काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको फाइदा उठाउँदै प्रहरी हिरासतबाट फरार भएका थुनुवाहरुले समूह बनाएर उपत्यकामा लुटपाटको आतंक मच्चाउने एउटा समूह पक्राउ परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गोली नै चलाएर बिहीबार बिहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १० जना लुटेरा छन् । प्रहरीले उनीहरुलाई विहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । उनीहरुले राजधानीमा कसरी लुटपाट गर्दथे भन्ने बारेमा प्रहरीले भिडियो नै सार्वजनि गरेको थियो ।
पक्राउ पर्नेमा काभ्रेका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण–७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली–१ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली–१ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु–१ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्भा–८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर–३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।
उक्त लुटपाटका मुख्य नाइके विनय हुन् । उनकै योजनामा स्वयम्भू, बौद्ध लगायतका उपत्यकाका विभिन्न ठाउँमा २७ पटकसम्म लुटपाट भएको प्रहरीले जनाएको छ ।