काठमाडौं । सरकारको सेवा क्षेत्रअन्तर्गतको संस्थान नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनौट प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचन आचारसंहिता लागिसकेपछि महाप्रबन्धक छनोट गर्न नमिल्ने दाबी गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले उक्त प्रक्रिया अघि नबढाउन बिहीबार अन्तरिम आदेश जारी गरेको हो । चिरञ्जीवी उपाध्यायले रिट दायर गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको संयोजकत्वमा गठित महाप्रबन्धक छनौट समितिले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि यही माघ ४ गते आइतबार १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । ती १० जनामा निगमका वरिष्ठ क्याप्टेन दिपु ज्वारचन, ग्राहक सेवा विभाग प्रमुख टंकनिधि दाहाल, उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत रहेका छन् ।