काठमाडौं । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर संगिता सिंह भण्डारीसहित १९ जनाले सिटी स्क्यान मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
कम गुणस्तरको सिटी स्क्यान मेसिन÷उपकरण खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीपछि अघि बढेको अनुसन्धानमा उपकुलपति, कर्मचारी र ठेकेदारको मिलेमतोमा अनियमितता गरेको तथ्य पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगमा उल्लेख छ ।
अख्तियारले सिंहसहित कामु रजिस्टार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बिसी, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल, शाखा अधिकृतहरू झन्कार लामिछाने,लीला कुमारी देवकोटा र मेघ बहादुर अधिकारी, आई.टी. अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जैसी, स्टाफ नर्स बिन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह, हिमालय मेडिटेक प्रालि तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरू सबैले आपसरी मिलेमतो तथा योजनमा आफूहरूलाई गैरकानुनी लाभ र प्रतिष्ठानलाई हानी पुर्याउने काम गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको हो । अख्तियारले लामो समयको अनुसन्धानपछि उनीहरूविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध सात करोड ३१ लाख ८२ हजार नौ सय ५१ रुपैयाँ बिगो कायम गरी सोही बिगोबमोजिम जरिबाना, कैद सजाय र हिनामिना भएको रकम असुलउपरको मागदाबी लिएको छ ।
प्रतिष्ठानको कार्यालय दाङको घोराही उपमहानगरपालिकामा रहेको छ । सोही कार्यालयका लागि सिटी स्क्यानका उपकरण खरिद गरिएको थियो । त्यसमा उनीहरू १९ जनाको संलग्नता देखिएको अख्तियारको अनुसन्धानले देखाएको छ । उपकरण खरिदमा अनियमितता गरेको अभियोगमै अख्तियारले गत २३ असोजमा पनि तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध नौ करोड ३४ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।