काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुरअन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । बर्दिबासस्थित मिथिला नगरी आर्मी गल्फ क्लबमा बिहीबार भएको अन्तिम खेलमा उनले नेपाल नम्बर एक प्रो निरज तामाङसँगै टंक बहादुर कार्की र भुवन कुमार रोक्कालाई १० स्ट्रोकले हराउँदै करियरको १२औँ उपाधि जितेका हुन् ।
ट्रफीसँगै उनले एक लाख ७० हजार रुपैयाँ हात पारेका छन् । यस्तै निरज, टंक र भुवनले संयुक्त रूपमा दोस्रो स्थान बाँडेका छन् । उनीहरूले जनहि १ लाख २ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाए । जयराम श्रेष्ठ र धन बहादुर थापाले संयुक्त पाँचौँ स्थानमा रहेर दुवैले ६८ हजार रुपैयाँ प्राप्त गरे । दिनेश प्रजापतिले सातौँ स्थान हासिल गरेर ५७ हजार रुपैयाँ पुरस्कार हात पारे भने कुमार कामीले आठौँ स्थानमा रहँदै ५१ हजार रुपैयाँ प्राप्त गरे । सुमन परियार र सञ्जय लामा संयुक्त रूपमा नवौँ स्थानमा रहे । दुवैले ४४ हजार रुपैयाँ पाए । यस्तै रवि खड्का र बलभद्र राईले ११औँ स्थान बाँडे । उनीहरूले समान ३६ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
एमेच्योरतर्फ सुन्दर राईले उपाधि जिते । उनले प्रकृत तामाङलाई हराउँदै उपाधि जितेका हुन् । प्रतियोगिताका विजयी खेलाडीहरूलाई मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण, मध्यपुर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जीसी, मधेस प्रदेश प्रमुख सचिव कमल भट्टराई र सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसिले पुरस्कार वितरण गरेका थिए । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी कुल ३६ गल्फरको सहभागिता रहेको थियो ।