दोलखा । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका ८ मा रहेकोे क्षत्रवती माध्यमिक विद्यालयका दुई सय १५ जना विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरिएको छ । विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बिहिबार विद्यालयकी जग्गा दाता स्थानीय लक्ष्मी खड्काले विद्यालयका सबै विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरेकी हुन् । वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको थियो । खड्काले यसअघि पनि जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न ५ लाखको अक्षय कोष स्थापना गरेर सहयोग गर्दै आएकी छिन् । खड्का दम्पतीले विद्यालयको भौतिक संरचना निर्माण गर्न दर्जनौं रोपनी जग्गा दानसमेत गरेको विद्यालयका प्रधानाध्यापक धुर्व कार्कीले बताए । सोहि अवसरमा जलस्रोत विज्ञ आत्मराम श्रेष्ठले विद्यालयमा लाइब्रेरी स्थापना गरिदिएका छन् । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका श्रेष्ठले विद्यालयको शैक्षिक उपलब्धिका लागि पुस्तक लाइब्रेरी स्थापना गरेको बताए ।
विद्यालयले बिहीबार आफ्नो ५९औँ वार्षिकोत्सव तथा २९औँ अभिभावक दिवसलाई भव्य रूपमा मनाएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगी, जग्गा दाता, अक्षयकोष दाता तथा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको थियोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कार्कीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।