काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बीमा रकमको खर्च हुन थालेको बताएकी छिन् ।
बिहीबार सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा उनले अत्याधिक खर्च आउन थालेकोले स्वास्थ्य बीमा कार्यन्वयनमा समस्या आएको बताइन् । अनावश्यक रूपमा डाक्टरले बिरामी जाँचेर औैषधि लेखिदिने र बिरामीले अनावश्यक रूपमा बीमाको दाबी गर्दा अहिलेको समस्या आएको उनको भनाइ छ । स्वास्थ्य बीमाको क्षेत्रमा सुधारको काम भइरहेको उनले बताइन् । उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बीमाको रकमको खर्च हुन थालेकोले समस्या परेको हो, अनावश्यक रुपमा डाक्टरले बिरामी जाँचेर औैषधि लेखिदिने र बिरामीले अनावश्यक रूपमा बीमाको दाबी गर्दा अहिलेको समस्या आएको हो, यसलाई समाधान गर्न सरकारले काम गरिरहेको छ ।’
स्वास्थ्य बीमामा सङ्घीय सरकारको एकोहोरो बोझ परेको उनको भनाइ थियो । स्वास्थ्य बीमालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको उनले बताइन् । मन्त्री शर्माले विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउने रकम र सामाजिक सेवाको रकम सरकारले तत्काल उपलब्ध गराउने स्पष्ट पारिन् । साथै उनले मुटु उपचारको क्षेत्रमा गङ्गालाल अस्पतालले पुर्याएको योगदानको प्रशंसा गरिन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा रवि मल्लले मुटु रोगको रोकथाम, निदान र उपचारमा गङ्गालालले उच्चस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको बताए । विसं २०५६ सालमा नौ शय्यामार्फत मुटुको उपचार सुरु गरेको उक्त अस्पतालले हाल तीन सय पाँच शय्यामार्फत बिरामीको उपचार गरिरहेको मल्लले जानकारी दिए । गत वर्ष मात्र गङ्गालाल अस्पतालले एक हजार नौ सय ९० विरामीको शल्यक्रिया सम्पन्न गरेको उनको भनाइ थियो ।