काठमाडौं । होटल फरेस्ट इनले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही माघ २२ गतेबाट सर्वसाधारणको लागि एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ३३ करोड २० लाख रूपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीका अनुसार लगानीकर्ताहरूले न्युनतम १० देखि अधिकतम दुई लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही माघ २६ गते र ढिलोमा यही फागुन आठ गते बन्द हुने छ ।
कम्पनीले जारी पुँजी दुई अर्ब रूपैयाँ मध्येबाट २० प्रतिशतका दरले हुन आउने ४० करोड रूपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणको लागि छु्ट्याएको थियो । सो मध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि साधारण सेयरको बिक्री गरे बाँडफाँटसमेत गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गरेको हो ।