काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही माघ २८ गतेबाट सर्वसाधारणको लागि सेयर बिक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख सात हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र एक लाख ४२ हजार दुई सय कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा भने कम्पनीले २८ हजार चार सय ४० कित्ता सेयर कर्मचारीहरूका लागि र ७१ हजार एक सय कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर एक सय रूपैयाँ अंकित दरका ११ लाख ८० हजार दुई सय ६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो । सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । निष्कासन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १३ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।