काठमाडौं । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसबाट अब सेयरको प्राथमिक निष्कासन (आईपीओ)मा आवेदन दिन सकिने भएको छ ।
अहिले आईपीओ भर्न सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयरबाट मात्रै सम्भव हुँदै आएकोमा अब भने बैंकको मोबाइल एपबाट पनि आवेदन दिन सकिने भएको हो । अहिले मेरो सेयरकै वेब लिंक (यूआरएल) मा जाने गरेर अन्यबाट पनि आईपीओ भर्न सकिन्छ । ग्लोबल स्मार्ट प्लसबाट भने अन्य पेज नखुलिकनै सोझै आईपीओ भर्न मिल्ने बैंकले उल्लेख गरेको छ । त्यस्तै, यो एप चलाउने ग्राहकले एक पटक यसबाट आवेदन दिइसकेपछि त्यसपछि खुल्ने हरेक आईपीओ भर्ने प्रक्रिया घट्दै जानेसमेत बैंकले उल्लेख गरेको छ । आईपीओ भर्न आवश्यक पर्ने सीआरएन नम्बर, पिन एपमै सुरक्षित रहन थाल्ने भएपछि अहिले जसरी हरेकपटक सम्झन पर्ने झण्झट नहुने बैंकले जनाएको छ ।
एपले ग्राहकलाई नयाँ आईपीओ खुलेको, आईपीओ भर्न आफ्नो खातामा पर्याप्त रकम रहे नरहेको र आईपीओ भरिसके पनि सेयर परे/नपरेको जानकारीसमेत दिने छ । यो एपमार्फत ग्राहकले सेयर विद्युतीय अभिलेखको रूपमा रहने डिम्याट खाता खोल्न, सेयर कारोबार गर्ने टीएमएस खाता खोल्न पनि सक्ने छन् । सेयर बजारमा कारोबारमा गर्नेहरूलाई आफ्नो कारोबार ट्र्याक गर्न, सेयर कारोबारको लाइभ मार्केट हेर्न, सूचीकृत कम्पनीहरूको २० भन्दा बढी सूचक एक आपसमा दाँज्न सकिने, सेयर कारोबारको लागत हिसाब गर्न सजिलो बनाउने बैंकको भनाइ छ ।