काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताएकी छिन् । विभिन्न कार्यक्रम गरी शुक्रबार देशभरि सहिद दिवस मनाइँदै छ ।
पूर्वराष्ट्रपति भण्डारीले सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरुको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई केवल संरचनागत उपलब्धिमा सीमित राख्न नहुने बताइन् । सहिद दिवस, ०८२ का अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनता संरक्षणका लागि अमूल्य जीवन बलिदान गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना सकार गर्न लाग्नुपर्ने बताइन् ।
“सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्नु हाम्रो साझा दायित्व हो । उक्त आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नो भूमिका इमान्दारीका साथ निर्वाह गर्न सहिद दिवसले थप ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्दछु ।” उनले सामाजिक सञ्जालबाट जारी सन्देशमा भनेकी छन् ।